बुधबार, १७ जेठ, २०८०,
काठमाडाैं,
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले राष्ट्रिय हितविपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको र भारतसँग कतिपय मुद्दामा सरकारले कूटनीतिक माध्यमबाट छलफल गरिरहेको बताए ।
उनले भने, ‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा दृढ छ । यसमा कहिल्यै कुनै सम्झौता गरिनेछैन । यसको प्रतिकूल कुनै काम गरिनेछैन । कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ । ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ । दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल गर्नुहुनेछ ।’
उनीहरूले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप गरिरहदा पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएका थिए ।







