सोमबार, २२ जेठ, २०८०
काठमाडाैं,
केही दिनयता देशका विभिन्न स्थानमा तापक्रम अत्यधिक बढेको छ । गर्मी बढेसँगै विद्यालयहरु बन्द गरीएको छ ।
जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्ने सम्भावना देखाउँदै उच्च सावधानी अपनाउन आग्रह गरेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।
तराईका विभिन्न स्थानमा तापक्रमले निश्चित स्तर (थ्रेसहोल्ड) नै नाघेको छ । ती स्थानहरूमा तातो हावा र लु सुरु भएको छ । शनिबार देशका विभिन्न ११ वटा ठाउँहरुमा तापक्रम ४० डिग्री नाघ्यो भने २८ ठाउँमा ३५ देखि ४० डिग्रीको बीचमा रह्यो ।
सामान्य अवस्थामा तीन दिनसम्म कुनै पनि स्थानमा तापक्रमले निश्चित स्तर नाघ्दा लुको अवस्था हुन्छ । लु तथा तातो दिन अनुगमनका लागि सन् १९८१ देखि २०२० सम्म ४० वर्षको तापक्रम विश्लेषण गरी प्रतिशतक (पर्सेन्टाइल) को आधारमा निश्चित दर निर्धारण गरिएको हुन्छ । मौसम विभागले गत वर्षदेखि शीतलहर तथा लुको अनुगमन प्रणाली विकास गरेर अनुगमन त्यसका लागि तापक्रमको मापदण्डहरू निर्धारण गरेको छ । कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतकभन्दा धेरै हुँदा तातो दिन, ९५ प्रतिशतक हुँदा धेरै तातो दिन र ९९ प्रतिशतकभन्दा बढी हुँदा अत्यधिक तातो दिन मान्ने गरिएको छ ।
मौसमविद् अनुसार काठमाडौंमा तातो दिन हुनका लागि तापक्रम ३१.३ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ । काठमाडौंका लागि ३२ डिग्रीभन्दा बढी तापक्रम हुँदा धेरै तातो दिन र ३३.५ डिग्रीभन्दा बढी हुँदा अत्यधिक तातो दिन मानिन्छ । जबकि विराटनगरमा तातो दिन हुनका लागि तापक्रम ३५.९ डिग्री नाघ्नुपर्छ । विराटनगरका लागि धेरै तातो दिन ३६.८ र अत्यधिक तातो दिन ३९ डिग्री सेल्सियस नाघेको हुनुपर्छ । जनकपुरका लागि तातो, धेरै तातो र अत्यधिक तातो दिन हुनका लागि क्रमशः ३७, ३८.२ र ४० डिग्री सेल्सियस तापक्रम नाघेको हुनुपर्छ ।
वीरगन्जमा तापक्रम ४२ डिग्री सेल्सियस नाघ्दा अत्यधिक तातो दिन मानिन्छ । इलामका लागि तापक्रम २८ डिग्री सेल्सियस नाघ्दा अत्यधिक तातो दिन मानिन्छ । यस्तै बुटवलका लागि ४२.२, नेपालगन्जका लागि ४३.४, दिपायलका लागि ४२.२, पोखराका लागि ३४.१ र पाल्पाका लागि ३५.४ डिग्री तापक्रम पुग्दा अत्यधिक तातो दिन मानिन्छ ।
मौसम विज्ञान विभागले लुलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । लगातार ३ दिनसम्म तातो, धेरै तातो र अत्यधिक तातो दिनलाई क्रमशः ‘माइल्ड लु’, ‘मोडरेट लु’ र ‘लु’ को अवस्था मान्ने गरिन्छ । माइल्ड लुको अवस्था हुँदा सावधानी अपनाउनुपर्ने र मोडरेट लुको अवस्था हुँदा तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा घाममा नजाने र पानी धेरै पिउनुपर्ने लु भएको अवस्थामा चिसो भएको ठाउँमा गइहाल्नुपर्ने वा घरभित्र बस्नुपर्ने विज्ञको सुझाव छ ।
मौसम विभागले एक बुलेटिन निकाल्दै तातो हावा तथा लुबाट बच्नका लागि घरभित्र वा चिसो स्थानमा रहन आग्रह गरेको छ । बाहिरी वातावरणमा नजान साथै हल्का सुतीको कपडा लगाएर, टाउको छोपेर वा टोपी लगाएर मात्रै बाहिर निस्कन विभागले आग्रह गरेको छ । यस्तै, पानी, सर्बतलगायतका झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने विभागको सुझाव छ ।







