आइतवार, २८ जेठ २०८०
काठमाडाैं,
सरकारी कार्यालय भित्र कार्यालय पोसाकमा टिकटक बनाउन नेपाल सरकारले प्रतिवन्ध लगाएको छ ।
कर्मचारीले औपचारिक पोसाकमै, कार्यालयसँग सम्बन्धित गतिविधिहरू देखाई उनीहरूले निर्वाध रूपमा टिकटकका सामग्री बनाइरहेका हुन्छन् । राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयलगायतले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् । सर्वसाधारणको गुनासो सुन्न सरकारले खडा गरेको संयन्त्र ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेका हुन् ।
गृह मन्त्रालयले पनि गत १९ जेठमा सात बुँदे निर्देशन दिएको छ । सचिवस्तरीय निर्णयअनुसार गृहले सातबुँदे निर्देशन जारी गरेको हो । ‘गृह मन्त्रालयमातहत कार्यरत केही वरिष्ठ अधिकारीले अनुपयुक्त, अव्यावसायिक गतिवधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृंखल किसिमका भिडियोहरू पोस्ट गर्ने गरेको भन्ने व्यहोराको गुनासो प्राप्त भएको’ले यस्तो निर्देशन जारी गरिएको गृहले जनाएको छ ।
निर्देशनको पहिलो बुँदामा ‘कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा टिकटकजस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने’ उल्लेख छ । त्यस्तै, सरकारी सवारीसाधनको प्रयोग गरेर, कार्यालयसँग सम्बन्धित संवेदनशील कामकारबाहीको जानकारी दिन नहुने निर्देशनमा उल्लेख छ । कार्यालयको कामकारबाहीको विवरण जानकारी गराउँदा व्यक्तिगत प्रचार–प्रसार र जस लिने आशयले पनि गर्न नपाइने निर्देशन छ ।
‘आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्ने,’ पाँचौँ नम्बर बुँदामा भनिएको छ । पदीय जिमेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न नपाइने गृहको निर्देशनमा छ । निर्देशन पालना गरे–नगरेको विषयमा मन्त्रालयले अनुगमनसमेत गर्ने प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।







