बिहिबार, २८ असार, २०८०,
काठमाडौं,
सरकारले यस वर्ष रोपाइँकै समयमा धानको समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
विगत वर्षहरूमा किसानको धान बिचौलियाले खरिद गरेपश्चात् मात्र समर्थन मूल्य तोक्दै आएको सरकारले यसपटक समयमै धानको समर्थन मूल्य तोेकेको हो ।
सरकारले यस वर्ष मोटा धानमा २ सय ३१ र मध्यम धानमा २ सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको छ । गत वर्ष सरकारले मोटा धानको दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो । यस वर्ष मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ तोकेको छ ।
यसपटक मौसम पूर्वअनुमान महाशाखाले पनि कम पानी पर्ने आकलन गरेको छ त्यसै कारण धानको उत्पादनमा धेरै नै गिरावट आउने आंकलन गरीएको छ । कृषि मन्त्रालयका अनुसार हालसम्म करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कम पानी पर्ने र धान रोपाइँ नै कम हुने हुँदा उत्पादनमा ह्रास आउने अनुमान गरेर सरकारले किसानको धान सबै खरिद गर्ने लक्ष्य राखेको छ ।







