नेपाल–भारत मैत्री संघ धनकुटा शाखाको सातौ मैत्री सभा शाखा सभापति खेम राज पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। सभाका प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष ईश्वर श्रेष्ठले उद्घाटन गर्दै नेपाल–भारत सम्बन्ध, भारत सरकारले नेपाललाई प्रदान गर्दै आएको सहयोग, भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर पीडितहरूका लागि उपलब्ध रेडिएसन मेसिन भावाटोन द्वारा भइरहेको उपचार, तथा नेपालमा प्राप्त अन्य सहायता जस्तै धनकुटा जिल्लामा विद्यालय बस, एम्बुलेन्स, भवन निर्माणलगायतका विषयमा जानकारी गराउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित सभापति महेश प्रसाद श्रेष्ठले राख्नुभएको थियो। सभाले महेश प्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा शाखा सभापतिमा निर्वाचित गरेको छ। साथै, १२ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ।
सभाको समापनका क्रममा धन्यबाद मन्तव्य सभापति खेम राज पौडेलले राख्नुभयो। उहाँले नेपाल–भारत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन शाखाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा आपसी सहयोग र सद्भावलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। अन्त्यमा, सभापति पौडेलले औपचारिक रूपमा मैत्री सभाको विसर्जन गर्नुभयो ।








