भारतले सैन्य शक्ति प्रदर्शन गर्दै आइतबार ७६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँदिल्लीस्थित कर्तव्यपथमा आयोजित समारोहमा सैनिक मार्चका साथै क्षेप्यास्त्र, ट्यांक, लडाकु विमान, मोटरसाइकल लगायतले शक्ति प्रदर्शन गरिएको थियो ।
परेडमा स्वदेशी अर्जुन युद्ध ट्यांक, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकोप्टरले जल, स्थल र आकाशमा विभिन्न प्रदर्शन गरेका थिए । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो प्रमुख अतिथि रहेको समारोहमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका राजनीतिज्ञ, वरिष्ठ अधिकारी, विदेशी कूटनीतिज्ञ उपस्थित थिए ।
गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रम गरेको छ । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराएका थिए । कार्यक्रममा भारतका राष्ट्रपति मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र आश्रित परिवारलाई पाँच करोड रुपैयाँ प्रदान गरेका थिए । भारतीय सशस्त्र बलका २ सय १९ मृतक सदस्यका श्रीमती र आश्रित परिवारलाई २३ करोड २९ लाख वितरण गरिएको थियो ।
यसमा सन् २०२४ मा सेना समूह बिमा (एजीआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानी समावेश छन् । कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकका लागि भारत सरकारका कल्याणकारी पहल समेटिएको ‘भूपू–२०२५’ पत्रिकाको पनि श्रीवास्तवले अनावरण गरेका थिए ।
दूतावासले नेपालका ६ प्रदेशका २९ शैक्षिक संस्थालाई २३ लाख ५ हजार बराबरको पुस्तक प्रदान गरेको छ । २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बीकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गरेकाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । दूतावासअन्तर्गतका स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
गणतन्त्र दिवसमा भारतीय राजदूतको सन्देश, नेपालमा यसरी मनायो दिवस
भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्र मुलुक बनेको थियो। दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सूचना जारी गर्दै भारत र नेपाललाई सहस्राब्दीयौँदेखि भौगोलिकरूपमा भूमि, नदी र हिमालले जोडेको बताएका छन्।
उनले नेपालका प्रसिद्ध पवित्रस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम आउने भारतीय तीर्थयात्रीको संख्याले पनि दुई देशबीचको सम्बन्ध गहिरो रहेको प्रतिबिम्बित गरेको जनाएका छन्। राजदूत श्रीवास्तवले भारतको प्रयागराजमा सन् २०२५ जनवरी १३ देखि फेब्रुरी २६ सम्म हाल जारी रहेको महाकुम्भमा नोपली तीर्थयात्रीहरूले सहभागिता जनाएकोबाट पनि दुई देशको सम्बन्ध प्रगाढ रहेको जानकारी दिएको बताएका छन्।














