आइतवार, २१ जेठ, २०८०,
काठमाडाैं,
तराई–मधेसका जिल्लामा अहिले अत्यधिक गर्मी बढेको छ गर्मीका कारणले खानेपानीको अभाव हुन थालेको छ । तराइका जिल्ला हरुमा खानेपानीको मुख्य स्रोत चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या हुन थालेको हो ।
जेठ सुरु भएलगत्तै चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको स्थानीयवासीले बताएका छन् । तराई–मधेसमा पानीको मुख्य स्रोतहरु सुक्न थालेपछि स्थानीय पानीको खोजीमा बाल्टी र बोतल लिएर पानी पाउने स्थानहरु चहार्ने अवस्था आएको हो ।
अहिले बारा,पर्सा रौतहटका अधिकांश गाउँको दक्षिणी भेगमा पानीको समस्या देखिएको छ । यस्तै वीरगन्ज महानगरको सहरी र ग्रामीण क्षेत्रमा समेत चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारण कठिनाइमा परेका छन् ।
१५–२० वर्षअगाडिसम्म एक सय ५० फिटको गहिराइमै जडान गरिएका चापाकलमा सहजै पानी आउने गरेको स्थानीयवासी बताउँछन् ।
चुरे जंगलको फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरूको भनाइ छ । पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रूपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरू बताउँछन् ।







