आइतबार,१४जेष्ठ २०८०
काठमाडौं
संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ ।बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको छ।संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदन संसदमा प्रस्तुत गर्नेछन् ।
मस्यौदा प्रतिवेदनमाथि आएका संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि नियमावली पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
आज दिउँसो प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ।







