शनिबार, १३ जेठ, २०८०,
काठमाडाैं,
संघीय संसद भवन नयाँ बानेश्वरमा आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीे पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिन नपाएकाले आज सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीेले जवाफ दिने बैठकको कार्यसूची छ ।
शुक्रबार एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो । तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो।
शुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पशुपतिको जलहरीमा अनियमितता भएको छ भने त्यसको अनुसन्धान गरेर कारबाहीमा ल्याउने सन्दर्भमा सरकारले चालेको कदमबारे पनि संसदलाई जानकारी दिनुपर्ने, र जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद चल्न नदिने बताए ।
एमाले बजेट ढिला हुनुहुन्न भन्ने पक्षमा नै रहेको तर पशुपतिको जलहरी सुन हो कि पित्तल पहिले टुंगो लगाउनुपर्ने उनको भनाइ छ ।







